स्वास्थ्य कार्यालय पर्साद्वारा खोप अभियान चलाउने तयारी पुरा

1

संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियान अन्तर्गत मुलुकका विभिन्न १९ जिल्लामा तीन चरणमा लगाइने खोप फागुन १ गतेदेखि शुरू भएर ३० गते सम्पन्न हुनेछ । स्वास्थ्य कार्यालय पर्साले खोपको तयारीबारे सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । जिल्लाका ८५ हजार ९ सय ५१ जना बालबालिकालाई खोप लगाउने सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय पर्साले जनाएको थियो ।
खोप अधिकृत अनिल सिंहले पर्साको वीरगंज महानगरको ३२ वटा वडामा फागुन १ देखि १० गतेसम्म खोप सेवा सञ्चालन गरिने बताए । त्यसैगरी महानगरपछि ७ वटा स्थानीय तहमा १२ देखि २० गतेसम्म र तेस्रो चरणमा फागुन २२ देखि ३० गतेसम्म जिल्लाको पश्चिम तर्फका स्थानीय तह कालिकामाई, छिपहरमाईदेखि ठोरी गापाको क्षेत्रमा खोप लगाउने कार्यक्रम तय भएको सिंहले बताए । ९ महीनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा, रुबेला विरुद्धको खोप लगाउन पर्साका १४ वटा स्थानीय तहमा ८६३ खोप केन्द्रमार्फत १७४६ जना स्वयंसेवक र ८१९ जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी भइरहेको उनले जानकारी गराए । मुलुकका १९ वटा जिल्लामा दादुरा, रुबेलाको खोप प्रतिशत ९५ प्रतिशतबाट शतप्रतिशत पुर्‍याउन र दादुरा, रुबेला पूर्णरूपमा निर्मूल पार्न रोटरी क्लब इन्टरनेशनलको सहयोगमा नेपाल सरकारले अभियान चलाइरहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसियाले खोप अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवालालाई सहयोग गर्न अपिल गरे । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो ।