इन्टरनेट सेवा प्रदायकले इन्टरनेटका तारलाई व्यवस्थित गर्ने छन् ः अध्यक्ष खेतान

संतोष रन्जितकार
वीरगंज, २९ माघ ।
वीरगंजको आदर्शनगर ग्रिन सिटीमा पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने भएको छ । इन्टरनेट प्रदायक संस्थाका प्रतिनीधि र ग्रिन सिटी समुदायिकबीच बुधबार भएको बैठकमा तारलाई व्यवस्थित गर्ने सहमति भएको हो ।
पहिलो चरणमा लोहरपट्टी चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्मको इन्टरनेट तथा टिभी केबल तारको व्यवस्थापन गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको थियो । छिट्टै वीरगंज नगरभरी नै तारलाई व्यवस्थित गरिने उनीहरुको भनाइ छ । निर्णय कार्यान्वयनका लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहित ६ सदस्यीय तार व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै ग्रिनसिटी सामुदायिकले विरोध जनाउँदै आएको थियो । इन्टरनेट सेवा प्रदायकले शनिबारदेखि तारलाई व्यवस्थित गर्न सहमति जनाएको ग्रिन सिटी सामुदायिकका अध्यक्ष खेतानले जानकारी दिए । बैठकमा नेपाल विद्युत प्राधिकरण, भायनेट, वर्ल्डलिंक, क्लासिक टेक, सुबीसु लगायत इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.