नेविसंघ पर्साद्वारा अख्तियार प्रमुख घिमिरे र प्रम ओलीको पुतला दहन

13

संतोष रन्जितकार
वीरगन्ज, २९ माघ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले बुधबार वीरगंजमा अख्तियार प्रमुख नविन कुमार घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा पुतला दहन गरेको हो ।

अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन भइरहेको छ ।
नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा वीरगंजको ठाकुरराम क्याम्पस अगाडी र कैलाश होटल चौकमा पुतला दहन गर्दै विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी तथा विरोध समेत गरेका थिए । पुतला दहन नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।
पुतला दहन कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, नेवि संघ जिल्ला उपाध्यक्ष विकेश पटेल, नेवि संघ महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता अब्दुल कयुम, नेपाली काँग्रेसका प्रवेश सर्राफ, समिर अंसारी लगायतको सहभागिता रहेको थियो ।