प्रजिअ कार्की र पर्सेली संचारकर्मी बीच भेटघाट तथा छलफल

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की र पर्सेली संचारकर्मी बिच भेटघाट, परिचय तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा भएको कार्यक्रममा संचारकर्मीहरुले पर्सा जिल्लामा देखिएका समस्या, तस्करी, भ्रष्टाचार, ठेकापट्टा लगायतको बिषयमा आफनो धारणा राखेका थिए । जवाफमा प्रजिअ कार्कीले पर्सामा देखिएको समस्याबारे आफु चिन्तित रहेको बताउदै शान्ति सुरक्षामा कुनै किसिमको कमी नआउने, भ्रष्टाचार, कालो बजारी, तस्करी नियन्त्रण र प्रशासनिक क्षेत्रमा देखिएको समस्याहरुलाई चाडै समाधान गरिने दाबी गर्नुभएको थियो । उहाँले धेरै समय देखि रोकि राखेको बिकाश निर्माणका काममा पनि बिशेष पहल गर्ने बताउनुभयो । सोही क्रममा पक्रकारहरुले दोहोरो नागरिकता लिएका व्यत्तिहरु पक्राउ परेको समयसम्म उनीहरुको समाचार मीडियामा आउने र पक्राउ परेपछि उनीहरुमाथि के–कस्तो कारवाही भएको नभएको भन्ने समाचार चाहि मीडियामा अहिलेसम्म नआएपनि अब चाहि आउनु पर्ने प्रजिअ समक्ष पत्रकारहरुले धारणा राखेका थिए । त्यसैगरी श्रीसिया जग्गा विवादमा फसेका किसानहरुको समस्या पनि चाडै समाधान गर्न पत्रकारहरुले प्रजिअलाई ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा लगायतको पत्रकारहरुको सहभागिता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.