पर्सेली पत्रकार र एसपी पन्त बीच भेटघाट तथा छलफल

140

संतोष रन्जितकार
वीरगंज, २ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुख बनेर आएकी प्रहरी उपरिक्षक गंगा पन्तले आएको नवौं दिन शुक्रबार पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको छ । कार्यक्रममा उनले गैरकानुनी गतिविधि गर्ने मानिसहरु प्रहरीसँग खुशी नहुने बताएकी हुन् ।
ॅगैरकानुनी गतिविधि गर्ने मानिसहरु प्रहरी संगठनसँग खुशी हुँदैनन् किनभने उनीहरु गलत कार्यमा संलग्न रहेका हुन्छन् । र प्रहरी एक्लैले पनि केही गर्न सक्दैन, स्थानीय तह र नागरिकसँग मिलेर नै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ । थुनुवा कक्षा भरीभराउ हैन खाली रहोस् भन्ने हाम्रो चाहना रहेको एसपी पन्तले भनिन् ।
उनले आफू आएको ९ औं दिनसम्म पनि सेवाग्राहीहरुलाई केही कामको कारण जिल्ला प्रहरी कार्यालयमा आउनु पर्दा यहाँका स्थानीय कोही नकोही साथमा लिएर आउने गरेको अनुभव सुनाउँदै अबका दिनमा उनीहरुलाई एक्लै प्रहरी कार्यालय आउन सक्ने वातावरण निर्माण गर्ने बताएकी थिइन् ।
उनले खुल्ला सीमाका कारण पर्साको सुरक्षा व्यवस्थमा मुख्य चुनौती रहेको बताइन् । सामाजिक र भौगोलिक बनौट अनुसार चुनौती फरक–फरक हुन्छ । प्रहरीले चुनौतीसँग खेल्ने नै हो । पर्सामा खुल्ला सीमा मुख्य चुनौती हो,’ एसपी पन्तले भनिन्, ॅसीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि भन्सार र सशस्त्र प्रहरीसँग मिलेर काम गछौं, नाकाका युनिटलाई सशक्त बनाई पर्सामा शान्ति कायम गर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायत पर्सेली पत्रकारहरुको उपस्थिती रहेको थियो ।