कालिकामाई गापामा विद्यार्थी र जनप्रतिनिधिबीच झडप

23

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
पर्साको कालिकामाई गाउँपालिकामा आन्दोलित १६ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नं. २ भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयका आन्दोलित विद्यार्थीहरु मध्ये १६ जनालाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको हो ।
कक्षा ७ का असिन खान, रवि कुशवाहा, राज खान, कक्षा ८ रितेश शर्मा, विकास चौरसिया, विकेश चौरसिया, इरसाद खान, निरन्जन कुमार, मुनिलाल कुमार, नागिन्द्र कुमार, राधेश्याम कुमार र कक्षा ९ श्रवण कुमार पटेल, विकेश कुशवाहा, सरुलम आलम, प्रिन्स चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विद्यालयमा शिक्षक अभाव भएका कारण पढाई प्रभावित भएपछि विद्यार्थीहरु आन्दोलित हुन पुगेका हुन् । आन्दोलित विद्यार्थीहरुले विद्यालय र वडा नं. २ को कार्यालयमा सोमबार विहान ११ बजे तालाबन्दी गरेका थिए भने पछि वडा कार्यालयको ताला फोडेर खोलिए पछि विद्यार्थीहरु गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर बिर्ता पुगेर गाउँपालिका कार्यपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा विद्यार्थी र गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र केही स्थानिय विच झडप समेत भएको थियो ।
सोही क्रममा एक विद्यार्थीले चलाएको ढुंगा लागेर गापा कार्यालयको एउटा मोनिटर फुटेपछि गापाका जनप्रतिनिधि र कर्मचारीहरुले केही विद्यार्थीहरुलाई हातपात समेत गरेका थिए । सोही क्रममा गापाका जनप्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी बोलाएर विद्यार्थीहरुलाई नियन्त्रणमा लिन लगाएका थिए । प्रहरीले ति विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा लगेपछि सयौंको संख्यामा रहेको आन्दोलित विद्यार्थीहरु पनि प्रहरी कार्यालय पोखरिया पुगेर पक्राउ परेका साथीहरु छोड्न माग गर्दै प्रहरी कार्यालय अगाडी प्रदर्शन तथा धर्ना समेत दिएका थिए ।
सांझ ६ः३० बजे आन्दोलित विद्यार्थी र जनप्रतिनिधि बिच मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा विवाद समाधान बारे छलफल गर्ने सहमती भएपछी पक्राउ परेका विद्यार्थीहरुलाई प्रहरीले छोडेको थियो ।