नेपाल राष्ट्रवाद संघद्वारा मुलुकमा सैनिक शासनको माग गर्दै र्‍याली प्रदर्शन

20

संतोष रन्जितकार
वीरगन्ज, ७ फागुन ।
नेपाल राष्ट्रवाद संघले मुलुकमा सैनिक शासनको माग गर्दै बुधबार वीरगन्जमा प्रदर्शन गरेको छ । संघले प्रजातन्त्र दिवसको अवसरमा राजतन्त्रसंगै मुलुकमा सैनिक शासन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हो ।
वीरगन्जको घण्टाघर चोकबाट बाजागाजाका साथ निस्केको र्‍याली माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुनः घण्टघारमा आएर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, राजसंस्था पुनः स्थापना गर, सैनिक शासन लागु गर, राजनीतिक दल मुर्दावाद लगायतका नाराहरु लगाएका थिए ।
आयोजित समापन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलहरुको अराजकताका कारण भ्रष्टचार र लुटतन्त्र बढेको आरोप लगाए । उनले भने, दलका नेताहरुकै कारण मुलुक बर्बाद भएको छ, अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता आजीत भएका छन्, त्यसैले यो मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्छ, देशमा सैनिक शासन लागु हुनै पर्छ ।
कार्यक्रममा नेपाल राष्ट्रवाद संघकी जिल्ला अध्यक्ष संगीता देवी साह, उपाध्यक्ष उमाशंकर कलवार, सचिव सन्तोष गुप्ता, कोषाध्यक्ष विष्णु कुमार दास लगायतको सहभागीता रहेको थियो ।