अवैध छोहडा, मरिच र गाँजा बरामद

35

संतोष रन्जितकार
वीरगंज, ९ फागुन ।
इलाका प्रहरी कार्यालय पोखरियाले अवैध रुपमा भारत निकासी हुन लागेको छोहडा र मरिच बरामद गरेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी स्थित बसबाट शुक्रबार ७ बोरा छोहडा ३ सय ५० के.जी. र ८ बोरा मरिच २ सय के.जी. बरामद गरिएको इप्रका पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताउनु भयो ।
विशेष सुचनाको आधारमा जन्तीबाट फर्केको ना ७ ख ८४२१ नम्बरको बसमा चेकजांच गर्दा अबैध छोहडा र मरिच बरामद भएको थियो । बरामद भएको छोहडा र मरिचको बिल माग गर्दा नभेटिएकोले नियन्त्रणमा लिई इप्रका पोखरियामा ल्याई थप अनुसन्धान भइरहेको सिंहले बताउनु भयो ।
त्यसैगरी पर्साको अमरपट्टीबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई बिन्दवासीनी गाउँपालिका–४ अमरपट्टीबाट नियन्त्रणमा लिएको हो ।
बहुदरमाई नगरपालिका–५ भौराटार बस्ने २६ वर्षीय मन्सी महतो साढे ५ किलो गाँजासहित पक्राउ परेका हुन् । ना.३ प ९६३ नम्बरको मोटरसाइकलको सिट कभरभित्र गाँजा राखेर भारततर्फ लैजान लागेको अवस्थामा उनी पक्राउ परेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।
ओरिजिनल सिट हटाएर उनले गाँजाकै सिट बनाएका रहेछन् । नर्मल सिटजस्तै बनाएर बाहिर सिट कभर लगाएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने । महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।