मुख्यमन्त्री गद्दीद्वारा भिस्वा व्यापारिक छलफल तथा अवलोकन

10

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
पर्साको ग्रामिण भेग स्थितको सिमावर्ती बजार भिस्वामा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शनिबार व्यापारिक समस्या बारे छलफल तथा अवलोकन गर्नु भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने भिस्वा बजारमा मुख्यमन्त्री गद्दी र पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण संग अनौपचारिक रुपमा स्थानियवासीहरुले बजारको बारेमा समस्या सामाधान गर्न छलफल गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री गद्दीले सिमामा समान पक्राउ परेपछि कुनै किसिम्मको सिफारिस नगर्ने बताए । स्थानियहरुसंग आफ्ना कुरा राख्दै मुख्यमंत्री गद्दीले वीरगंजबाट सामान भिस्वा ल्याउन कुनै किसिम्मको रोकावट नगर्ने र गर्नु नहुने प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका थिए ।
सांसद कर्णले भंसार र सिमानाकामा चेकजाँच गर्नुपर्ने र बिचमा चेकजाँच गर्दा स्थानियहरुले दुःख भोग्नु परिरहेका कारण सो कुरामा सुधार गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।
केही दिन अगाडी भिस्वा बजारका सरसमान ट्रेक्टर सहित प्रहरीले भंसार तथा जिल्ला प्रहरी कार्यालयमा तानेर लगेका कारण भिस्वा बजार बन्द गरी स्थानिय ब्यापारी आन्दोलन समेत गरेका थिए । भिस्वा बजारका ब्यापारीहरुले बिरगंजबाट भिस्वासम्म समान खरिद गरी ल्याउन बिचमा कुनै किसिम्मका अवरोध नगर्न आग्रह गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई भेटन अस्थायी राजधानी जनकपुर समेत पुग्नुको साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयामा गई ज्ञापनपत्र सहित आफ्नो मांगहरु राखेका थिए ।
आज भएको अनौपचारिक कार्यक्रममा प्रदेश सांसद सिंघासन साह कलवार, प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लगायत भिस्वा प्रहरी, बंजारी प्रहरी चौकी तथा अन्य सुरक्षाकर्मीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो ।