चोरीका मोटरसाइकल बिक्री गर्ने नाइके पक्राउ

27

बारा, १२ फागुन ।
बारा प्रहरीले चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको टोलीले गत फागुन ८ गते कोल्हबी नगरपालिकाको वडा नं. ६ बस्ने नारायण चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई सो नगरपालिकाको वडा नं. ५ मा मोटरसाइकल बिक्री गर्न आएको बेला ३ वटा मोटरसाइकल सहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
चौधरीको साथबाट बा ३७ प ९६८१ नम्बरको २२० सि.सि. कालो रंगको पल्सर मोटरसाईकल १ वटा, ग १० प ९६०७ नम्बरको २०० सि.सि. सेतो रंगको पल्सर एन एस मोटरसाईकल १ वटा र ना ५२ प ४३८८ नम्बरको २०० सि.सि.को सेतो रंगको पल्सर एन एस मोटरसाईकल १ वटा गरी जम्मा ३ वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो ।
चौधरीलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको र उक्त चोरी कार्यमा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भईरहेको बारा प्रहरीले जानकारी दिएको छ ।