वडा अध्यक्षले निर्दोष छोरालाई फसाएको पीडित पक्षको आरोप

12

सत्येन्द्र प्रताप सिंह
रौतहट, १२ फागुन ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ८ सरमूजवा निवासी जंगबहादुर मुखियाले निर्दोष छोरालाई वडा अध्यक्ष मुक्ति नारायण मिश्राले फसाएको आरोप लगाएका छन । स्थानीय वडा नम्बर ९ का वडा अध्यक्षको विरुद्ध सयौको संख्यामा आएका स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय अगाडी निर्दोषलाई रिहा गर भन्दै प्रदर्शन समेत गरेका थिए । गएको ९ गतेका दिन पसलमा रहेका २४ वर्षीय नवल किशोर मुखियालाई वडा अध्यक्ष मिश्रा, आफ्नो भाई भतीजो छोरा सहित आई पक्राउ गरी पुरानो हतियार र मोटरसाइकलमा हालेर फसाएको पीडितको आरोप रहेको छ । पक्राउ परेका मुखिया सित रहेका स्थानीय नवल किशोर यादवले वडा अध्यक्ष मिश्रा उनका छोरा मुन्ना मिश्रा, भाई पुरुषोत्तम मिश्रा र भतीजो अभिशेख मिश्रा आएर मुखियालाई चोर–चोर भन्दै समातेर प्रहरीको जिम्मा लगाएको बताए । पक्राउ परेको बेला कुनै हातहतियार नभेटिए पनि भोली पल्ट मोटर साइकलको सिट मुनिबाट कहिया लागेको हतियार र गोली फेला परेको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कृष्ण बस्कोटाले बताए ।
स्थानीय प्रत्यक्षदर्शी हरिओम मुखियाले प्रहरीको मिलोमातोमा निर्दोष युवकलाई फसाइएको बताए । स्थानीयहरुले वडा अध्यक्षको छोरा भतीजाहरुले अँध्यारो भएको बखत मोटरसाईकल चेकजाँच गर्ने र रकम असूल्ने गरेको आरोप समेत लगाएका छन । पक्राउ परेका मुखियाको आमा बिरती देवीले छोरालाई वडा अध्यक्षले फसाएको बताइन । वडा अध्यक्षले झूठो आरोपमा फसाएको बताउदै पसल खोलेर श्रम गर्दै आएका निर्दोष छोरालाई फसाएकोमा वडाअध्यक्ष मिश्रालाई पनि कानुनको दायरामा ल्याउनु पर्ने उनको माग थियो । मिश्राले घटना स्थलबाट हतियार बरामद भएको स्वीकार गर्न सकेका छैन । उहाले भने भोलीपल्ट प्रहरी कार्यालयमा जांदा हतियार बरामद भएको जानकारी पाएको प्रतिक्रिया दिएका छन । प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कृष्ण बस्नेतले घटना सम्वन्धमा छानविन भइरहेकोले प्रतिक्रिया दिन नमिल्ने बताए । प्रहरी उपरीक्षक रविराज खडकाले यस विषयमा केहि बोल्न चाहेनन् ।