सांसद मियाँद्वारा मदर्सा भवनको शिलान्यास

10

बारा, १२ फागुन ।
गत वर्ष चैतमा आएको हावाहुरी चक्रवातले क्षतीग्रस्त बनाएको फेँटा गाउँपालिका स्थित वडा नं.३ मा रहेको मदर्सा भवनको निर्माण हुने भएको छ । त्यो क्षेत्रका संघीय सांसद एकबाल मियाँले संसदीय साझेदारी कोषको १० लाख रुपैया लगाएर मदर्सा निर्माण गराउन लाग्नु भएको हो ।
सांसद मियाँले सोमबार एक कार्यक्रम बीच मदर्साको शिलान्यास गर्नु भएको थियो । मदर्सामा १ सय ५० बिद्यार्थीहरु अध्ययनरत रहेका छन भने मदर्सा जीर्ण अवस्थामा रहेकोले पठन–पाठन समेत प्रभावित भएको थियो । उहाँले शिक्षालाई गुणात्मक बनाउन प्रतिस्पर्धात्मक प्रशिक्षणको खाँचो रहेको बताउदै मदरसमा अध्ययनरत बिद्यार्थीहरुका लागि गणित, अंग्रेजी, बिज्ञान बिषय समेत पढाउने धारणा ब्यक्त गर्नु भयो ।
उहाँले प्रसौनी गाउँपालिकामा ७० करोडको लागतमा आइटी पोलिटेक्नीक कलेज निर्माण भइरहेको जानकारी दिदै अब कम शुल्कमा यस क्षेत्रका बिद्यार्थीले प्राविधिक शिक्षा लिन पाउने बताउनु भयो ।
कार्यक्रममा फेटा गा.पा. अध्यक्ष अमिरीलाल गुप्ता, क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वरिष्ठ उपाध्यक्ष जवाहिर महतो, प्रदेश नं.२ का अध्यक्ष मदन गुप्ता, वडा अध्यक्ष उपेन्द्र साह लगायत नेताकार्यकर्ता र स्थानीय बुद्धिजिवी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।