यातायात कार्यालय वीरगंजमा अख्तियारको छापा

25

संतोष रन्जितकार
वीरगंज, १४ फागुन ।
यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले छापा हानेको छ ।
यातायातको सवारी फाँटमा अख्तियारको टोलीले छापा हान्दै विभिन्न कागजपत्र चेकजाँच गर्नुको साथै कार्यालय प्रमुख विपिन कर्णसंग सोध पुछ गरेको हो । प्रहरी निरिक्षकको नेतृत्वमा ३ जना सहभागि रहेको अख्तियारको टोली १ः३० बजेको समयमा यातायात कार्यालयमा गई ३ घण्टासम्म विभिन्न कागजपत्र हेर्नुको साथै कार्यालय प्रमुख कर्णसंग सोधपुछ गरी फर्केका हुन् ।
अख्तियारमा यातायात कार्यालय विरुद्ध उजुरी परेपछि अनुसन्धानको लागि टोली पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका प्रवक्ता शिवराज रेग्मीले बताए । उनले अहिले अख्तियार प्रारम्भिक अनुसन्धानको क्रममा रहेकाले केही भन्न नमिल्ने बताए ।
सवारी नामसारीको लागि अनियमितता भएको केही संचार माध्यममा समाचार आएपछि र अख्तियारमा उजुरी परेपछि अख्तियारको टोली अनुसन्धानको लागि यातायात कार्यालय वीरगंज पुगेको थियो । समाचार स्रोतका अनुसार विभिन्न मोटरसाइकल एजेन्सी मार्फत बिक्री भएको सवारीको नामसारी एजेन्सीका दलालहरु मार्फत सवारीधनीहरुको विना उपस्थितीमा नामसारी गरी मोटो रकम असुलीको समाचार बाहिर आएपछि अख्तियारले छानविन थालेको हो ।