आगो ताप्ने क्रममा जलेर घाइते भएकी खातुनको उपचारको क्रममा मृत्यु

13

संतोष रन्जितकार
वीरगंज, १५ फागुन ।
गत फागुन ४ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका–५ की सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै घरमा घुर ताप्ने क्रममा फागुन ४ गते लुगामा आगो सल्किँदा खातुन घाइते भएकी थिइन् भने आर्थिक अवस्था कमजोर भएका कारण उनको समयमै उपचार हुन नसकेको हो ।
खातुनको उपचारको क्रममा बुधबार राति काठमाडौँको कीर्तिपुर अस्पतालमा मृत्यु भएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिएका हुन् ।
गाउँको ऐलानी जग्गामा बसोबास गर्दै आएकी खातुनलाई केही समयपछि छिपहरमाई गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर उपचारका लागि नारायणी अस्पताल पुर्‍याएको थियो । शरिरको ८० प्रतिशत भाग जलेको अवस्थामा रहेको हुँदा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि उनलाई कीर्तिपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा बुधबार राति खातुनको मृत्यु भएको हो । उनको मृत्युपछि छोराछोरीको विचल्ली भएको छ । खातुनका दुई छोरा र दुई छोरी छन् ।
त्यसैगरी मिलको फित्तामा बेरिएर बिहीबार पर्सामा एक महिलाको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया ललितादेवी ठाकुरको सेलर मिलको पट्टामा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजे आफ्नै मिलमा धान कुट्ने क्रममा सेलर मिलको फितामा लुगा बेरिएर ललिताको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरीले शवको मुचुल्का उठाएको सिंहले बताए ।