मृतक परिवारद्वारा प्रभु अस्पताललाई काउन्सिलले दिएको क्लिन चिट सार्वजनिक नगरेको प्रति आलोचना

13

संतोष रन्जितकार
वीरगन्ज, १५ फागुन ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बिहिबार मृतक परिवारजनले पत्रकार सम्मेलनको आयोजना गरेको छ । मृतक परिवार अमृता श्रेष्ठकी आमा र सुनिता देवी ठाकुरको जेठाजुले सम्मेलनमा बोल्दै केही दिन पहिला प्रभु अस्पताललाई मेडिकल काउन्सिलले हाम्रो अस्पताललाई क्लिन चिट दिइसकेको भए त्यसलाई किन सार्वजनिक नगरेको भनी आलोचना समेत गरेका थिए ।
केही दिन पहिला प्रभु अस्पतालले आयोजना गरेको स्वास्थ्य शिविरको क्रममा डा. लक्ष्मी थापा गुप्ता र मनोज गुप्ताले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुका सामु प्रभु अस्पतालमा केही महिना पहिला घटेको घटनाप्रति मेडिकल काउन्सिलले हाम्रो अस्पताललाई क्लिन चिट दिइसकेको बताउंदै उनीहरुले अब अस्पताल समेत सुचारु गर्न कुनै बाधा अडचन नरहेको जानकारी दिएका थिए । मृतक परिवारहरुले दोषीमाथि कुनै किसिमको कारवाही किन नभएको भन्दै दोषीलाई कारवाही गर्नको लागि प्रभु अस्पतालको गेटमा अनशन समेत गर्ने जानकारी गराएका थिए ।
एकैदिन शल्यक्रिया गरिएका दुई सुत्केरीको मृत्युसम्बन्धी घटनामा अनुसन्धान सुरु भएको छ ।
वीरगन्जको प्रभु अस्पताल तथा रिसर्च सेन्टरमा पुस ८ मा कलैया उपमहानगर–४ की अमृता श्रेष्ठ र पचरौता नगर–१ पिपरपातीकी सुनीतादेवी ठाकुरको शल्यक्रिया गरी बच्चा निकालिएपछि मृत्यु भएको थियो । पीडित पक्षले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएका थिए ।
मृतकका परिवारहरुले उनीहरुले लापरबाही गर्ने चिकित्सकको लाइसेन्स खारेज हुनुपर्छ, क्षतिपूर्तिभन्दा पनि हामी कानुनी उपचार खोजिरहेको बताएका थिए । उनीहरुले प्रभु अस्पतालकी डा. लक्ष्मी थापा गुप्तामाथि कर्तव्य ज्यान मुद्दा समेत दर्ता गराएका थिए ।