वीरगन्जमा आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश स्तरीय फोटो प्रदर्शनी शुरु

56

संतोष रन्जितकार
वीरगंज, १६ फागुन ।
आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश नम्बर २ स्तरीय फोटो प्रदर्शनी शुक्रबारदेखि वीरगंजमा शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता छ ।
फोटो पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ, पर्साको हलमा सञ्चालन गरिएको छ भने तालिमको प्रशिक्षकमा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायत रहनुभएको छ । त्यसैगरी फोटो प्रदर्शनी वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा गरिएको छ ।

प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्ढनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।
नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर २ र नेपाल फोटो पत्रकार महासंघ, प्रदेश नम्बर २ को आयोजना तथा नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साको सहआयोजनामा फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनी गरिएको हो । तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।

फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको शुक्रबार वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा उहाँले व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनुभयो । उहाँले प्रदेश २ मा सयभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल रहेकाले तिनलाई फोटो पत्रकारिताको माध्यमबाट उजागर गर्नुपर्नेमा जोड दिनुभयो । मेयर सरावगीले पत्रकारिता क्षेत्रको विकासका लागि वीरगञ्ज महानगरपालिका सधैँ तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले, उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ र पर्सा अध्यक्ष बिजय चौहानले आफ्ना भनाई राख्नुभएको थियो ।