नेपाली सेनाद्वारा सेना दिवसको उपलक्ष्यमा वीरगंज म्याराथन २०२० प्रतियोगिता सम्पन्न

17

संतोष रन्जितकार
वीरगन्ज, १७ फागुन ।
नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ॅएकताको लागि दौड’ वीरगंज म्याराथन प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जित्न सफल भएका छन । रक्षा मन्त्रालय, नेपाली सेना मध्ये पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको आयोजनामा भएको म्याराथनमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जितेका हुन् । यो संगै उनले नगद १ लाख २५ हजार रुपैया र टिभिएस कम्पनीको अपाची मोटरसाईकल समेत हात पारेका छन ।

त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका छन् । द्धितिय हुनेमा क्लबका राजन रोकाया र तृतिय हरि कुमार रिमालले क्रमश १ लाख ५० हजार र १ लाख रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो । रोकाया सेनाका सुवेदार हुन् भने रिमाल सिपाही हुन् । विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

सेनाले आयोजना गरेको वीरगन्ज म्याराथ प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुँदै पुन ः कलैयाबाट वीरगन्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई सम्पन्न भएको थियो ।

त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्धितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र बिन्दा श्रेष्ठ, र पुरुषतर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत बिजयी भएका थिए । २१ किलोमिटरको दौडका प्रथम, द्धितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।
यसैबीच १० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्धितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हाँसिल गरेका थिए । विभागियबाट त्रिभुवन आर्मी क्लब महिला र पुरुष तर्फ प्रथम, द्धितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा ४० वर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्धितीय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी भएका थिए । उनीहरुलाई २०, १५ र १० हजार नगद पुरस्कार तथा प्रमाण पत्रले सम्मानित गरिएको थियो ।
प्रतियोगितामा ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम भएका थिए । उनलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्धितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद पुरस्कार प्रदान गर्दै प्रमाण–पत्रले सम्मानित गरिएको थियो ।

वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा स्वच्छ देश–स्वस्थ मधेश भन्ने मुल नाराका साथ ॅएकताको लागि दौड’ वीरगन्ज म्याराथन २०२० को आयोजना गरिएको थियो । सो प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए, जसमध्ये ४१ सय जनालाई निःशुल्क टि–सर्ट र टोपी उपलब्ध गराईएको थियो ।
म्याराथन प्रतियोगिताले प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नयाँ खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरुसंग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको थियो ।

त्यसैगरी म्याराथन प्रतियोगिताको उद्घाटन प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले संयुक्त रुपमा गरेका थिए । उद्घाटनको क्रममा मुख्मन्त्री गद्दीले पेस्तौलबाट हवाई फायर गरेका थिए । भने प्रधान सेनापति थापाले तोपबाट एक राउण्ड हवाई फायर गरी दौड शुरु गरिएको थियो भने कार्यक्रममा झाँकी, नृत्य तथा संगीत तथा तालिम प्राप्त कुकुरको प्रदर्शनी समेत प्रस्तुत गरिएको थियो ।

सो प्रतियोगितामा ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीहरुका लागि विभिन्न १४ समूहमा खेल विभाजन गरिएको थियो । धावकहरुको सुरक्षाका लागि एम्बुलेन्स र हेलिकप्टरसमेत परिचालन गरिएको थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद करिमा बेगम, मंजुर अंसारी, नेपाली सेनाको २८ बाहिनी अड्डाका सहायक रथी अनुपजंग थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाली सेना चण्डीप्रसाद गण पर्साका गणपती मदनजंग राणा लगायत स्थानीयहरुको ठूलो उपस्थिती रहेको थियो ।