प्रेस स्वतन्त्रताको अनुगमन गर्न महासंघको केन्द्रिय मिशन टोली बारामा

13

कलैया, १ चैत्र ।
बारा जिल्लामा प्रेस स्वतन्त्रताको अवस्थाको अनुगमन गर्न तथा स्वर्गीय पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न रहेका अभियुक्तहरुलाई कडा भन्दा कडा सजायको माग गर्दै महासंघको केन्द्रिय मिशन टोली बारा पुगेको छ ।
नेपाल पत्रकार महासंघको बारा पुगेको टोलीमा केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, सचिव गुरुप्रसाद प्रसाद गौतमसहित अन्य सदस्यहरु रहेका छन् ।
टोलीले शनिबार कलैयामा पत्रकारहरुसंग भेटघाट तथा छलफल गरेका हुन् । सो अवसरमा टोलीका संयोजक तथा महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले माओवादी द्वन्द्व कालमा अकाल मै ३७ जना पत्रकारले ज्यान गुमाउनु परेको बताए । उहाले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खेल कोहि कसैले गरे अब मान्य नहुने चेतावनी समेत दिएका थिए ।
पोखरेलले पत्रकारको अवस्था बारे देशव्यापी रुपमा टोलीले अभियान थालेको जनाए । सो अवसरमा टोलीका सदस्य एवम् महासंघका कोषाध्यक्ष राजेश मिश्रले पत्रकारको स्वतन्त्रता बारे मिशन अनुगमन थालिएको बताएका थिए । त्यस्तै पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बाराबाट १२ वर्ष अघि माओवादी द्वन्द्व कालमा ज्यान गुमाएका पत्रकार साहको मुद्दाबाटै मिसन सुरु गरिएको जानकारी गराए थिए ।
मिशन टोलीले शनिवार नै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी अधिकारीहरुसंग भेटघाट गरेको छ । भेटघाटमा टोलीले प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीलाई पत्रकार साहको हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेकोमा धन्यवाद व्यक्त गर्दै एसपी पंगेनी सहित अन्य अधिकारीहरुलाई सम्मान समेत गरेको थियो । पत्रकार साहको हत्याका मुख्य योजनाकार लालबहादुर धामी सहित अन्य दुई जना अपराधीलाई पक्राउ गरि कानुनी कठघरामा ल्याउन मिशन टोलीले बारा प्रहरीसमक्ष माग गरेको थियो ।
प्रहरीले गत आईतबार पत्रकार साहको हत्यामा संलग्न रहेका कुन्दन फौजदारलाई पक्राउ गरि जिल्ला अदालतमा बुझाएको थियो । जिल्ला अदालतमा १ नम्बरको ईजलासमा शिलनाथ रेग्मीको एकल ईजलासले थुनछेक बहस पछि फैसला नहुन्जेलसम्म पुर्पक्षको लागि वीरगंज करागार पठाउने आदेश समेत दिएका थिए ।
शान्ति समझौतामा आईसकेपछि पत्रकार साहलाई तत्कालीन नेकपा (माओवादी)ले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेका थिए । खोजतलास व्यापक रुपमा गरिरहदा कार्तिक २२ गते उनको शव टाँगिया बस्ती जंगलमा फेला परेको थियो । हत्यामा संग्लगन कुन्दन फौजदार, हरेराम पटेल, मनेजर चौधरी, लालबहादुर धामी, रामएकबाल सहनी गरि पाँच रहेका थिए ।
पक्रकार साहको हत्यामा संलग्न रहेको मध्ये मनेजरले ११ वर्ष जेल सजाए काटेर जेलमुत्त भईसकेका छन भने रामएकवाल सहनी विरगंज कारागरमा जेल सजाय काटिरहेका छन ।