वीरगंज नाका भएर १ सय २८ बुलेट ग्याँस नेपाल भित्रियो

39

संतोष रन्जितकार
वीरगंज, १ चैत्र ।
कोरोना भाइरसको त्रासले बजारमा खाना पकाउने ग्यासको अभाव देखिए पनि पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको छ ।
वीरगञ्ज नाका भएर पछिल्लो तीन दिन मंगलबार, बुधबार र बिहीबार १ सय २८ बुलेट ग्याँस नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सारका अनुसार १ सय २८ वटा बुलेटमा कुल २२ लाख ६३ हजार १ सय १० किलोग्राम खाना पकाउने ग्याँस भित्रिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमत साहका अनुसार वीरगञ्ज नाकाबाट दैनिक रुपमा ४२ देखि ४६ वटा ग्याँस बोकेका बुलेटहरु आउने गरेकोमा पछिल्लो तीन दिनमा पनि सोही अनुपातमा ग्याँस बुलेट नेपाल भित्रिएका हुन् ।
वीरगञ्ज नाका भएर गत जनवरी १ देखि मार्च १२ सम्म कुल पाँच करोड ८५ लाख ६३ हजार ९ सय ३० किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।