कोरोना भाईरस रोकथामका लागि गरुडा नगरपालिकाले जनचेतना मुलक कार्यक्रम सञ्चालन गदै

28

सत्येन्द प्रताप सिंह
रौतहट, ५ चैत्र ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि रौतहटको गरुडा नगरपालिकाले प्रभावकारी कदम चाल्ने भएको छ । विश्वमा महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरुडा नगरपालिकाले नगरमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएपछि गरुडा नगरपालिकाले पनि यसलाई रोकथामको लागि प्रत्येक वडामा भोली बिहिवारदेखी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख ईन्नु राय यादवले जानकारी दिनुभयो ।
नोवेल कोरोना भाईरस सम्बन्धी गरुडा नगरपालिकाले बुधबार गरुडा स्थित नवीन गेष्ठ हाऊसमा आयोजना गरेको जनचेतना मुलक अन्तरक्रिया कार्यत्रममा नगरप्रमुख यादवले यस्तो बताएका हुन ।
भोली (बिहिबार) देखी नगरभित्रको सम्पूर्ण वडामा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी कोरोना भाईरसको लक्षण, यसको रोकथाम र यसबाट बाच्ने उपायको बारेमा आम नागरिकलाई जानकारी दिने मेयर यादवले बताए ।
नगरप्रमुख इनु राय यादवको सभापतित्व तथा समाजबादी पार्टीका जिल्ला इन्चार्ज बृज किशोर प्रसाद यादबको प्रमुख आतिथ्यमा सम्पन्न झएको अन्तरक्रिया कार्यत्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मो. मुस्ताक आलमले कोरोना रोगबाट बाच्ने उपायहरु तथा यसबाट जोगिन नगरपालिकाले गरेको कामकार्यवाहीको बारेमा प्रकाश पारेका थिए ।
अन्तरक्रियामा कोरोना रोगको लक्षण, बाच्ने उपाय लगायत साबधानी सम्बन्धी सम्पूर्ण विषयको बारेमा सिटी हस्पिटलका डाक्टर सन्तोष साहले जानकारी दिएका थिए । कार्यक्रममा नगर उद्योग बणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी, समाजवादी पार्टीका युवानेता राजकुमार दास, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य कर्मी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।