नेपाली कांग्रेस बाराद्वारा कोरोना संक्रमितहरुको लागि प्रदेश सरकारलाई ४० लाख ७५ हजारको चेक हस्तान्तरण

23

बारा, २४ चैत ।
नेपाली कांग्रेस बाराले प्रदेश नम्बर २ का कोरोना भाइरसबाट प्रभावित भई संक्रमण देखिएका बिरामीहरूको उपचारको लागि ४० लाख ७५ हजार हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस बाराले प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार सो रकम हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस प्रदेश नं. २ का संसदिय दलका नेता रामसरोज यादव र बाराका सभापति जयचन्द्र चौरसियाले संयुक्तरूपमा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका थिए । प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाली कांग्रेस बाराले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
देशको सुख दुखको सारथिको रूपमा रहेको नेपाली कांग्रेसले महामारीबाट पिडितहरूको घाउमा मल्हम लगाउन प्रदेश सरकारलाई चेक हस्तान्तरण गरिएको नेपाली कांग्रेस बाराका सभापति चौरसियाले बताए ।
चेक हस्तान्तरणमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव, सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादव, नेपाल पत्रकार महासंघ बाराका कोषाध्यक्ष मुकेश यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतको उपस्थिति रहेको थियो ।