सांसद यादवसहित ४ जना होम क्वारेन्टाइनमा

25

बीरगंज,२७ चैत ।
गृह मन्त्रालयले पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै समाजवादी पार्टी नेपालका नेता समेत रहेका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो ।
सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए । सांसद यादव भारतको रक्सौलमा रहेको हजारी मल उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा गएको बिषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि सांसद यादव तथा वहाँसंग गएका अन्य ३ जनालाई पनि होम क्वारेन्टिनमा बस्न पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले आग्रह गर्न भएको हो । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । ’क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन । यससम्बन्धी निर्द्शेिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेका थिए ।’
उहाँले भन्नुभयो, ’क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ । यसमा ठूलो वा सानो भन्ने हुँदैन । यसैसंग सीमामा आवतजावतलाई पनि थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिइएको छ ।