४४ हजार घरधुरीलाई राहत वितरण

9

वीरगञ्ज, २७ चैत (रासस) ः
’लकडाउन’का कारण समस्यामा परेका गरिब तथा विपन्न प्रदेश नं २ का आठ जिल्लाका ४४ हजार घरधुरीलाई राहत वितरण गरिएको छ ।
प्रदेश नं २ प्रहरी कार्यालयका अनुसार स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्था र दाताहरुले प्रदेशका आठ जिल्लामा सो राहत वितरण गरिएको प्रदेश नं २ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो । राहत सामग्रीमा दाल, चामललगायतका खाद्यान्न, मास्क, स्यानिटाइजर, लत्ताकपडा रहेको छ ।
’लकडाउन’को अवधिमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी आफ्नो घरमा बसिरहेका शङ्ढास्पद मानिसलाई निगरानी राख्न प्रदेशका आठ जिल्लामा ८१० वटा टोल तथा वडा समिति गठन गरिएको छ । लकडाउनको अवधिमा हालसम्म लुकिछिपी भारतबाट नेपाल भित्रिएका ८०० जनालाई पक्राउ गरी क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा राखिएको छ । आज मात्र लकडाउनलाई उलंघन गर्ने ३७ व्यक्ति तथा १२१ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
आजसम्म प्रदेश नं २ को आठवटै जिल्लामा ५९ महिलासहित ९५६ जना क्वारेन्टाइनमा, ४९ महिलासहित ४४४ जना होम क्वारेन्टाइनमा रहेका जनाइएको छ । यसैगरी पर्सा, धनुषा र सिराहा गरी १६ जना आइसोलेशनमा रहेका बताइएको छ ।