स्वास्थ्य सामाग्री ल्याउन श्री एयरलाइन्सले सिंगापुर उडान गर्ने

18

काठमाडौं। कोभिड-१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य  सामाग्री ल्याउन श्री एयरलाइन्सले काठमाडौं-सिंगापुर  उडान गर्ने भएको छ।

नेपाल सरकारसँगको समन्वयमा श्रीले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शुक्रबार चार्टर उडान गर्न लागेको हो। ‘सिंगापुरको एउटा गैर सरकारी संस्थाले नेपाल सरकारलाई मेडिकल किट्स दिने भएपछि श्रीले नि:शुल्क चार्टर उडानको सेवा दिने भएको हो। यो उडानमार्फत कम्पनीले कुनै पनि क्षेत्रबाट शुल्क क्लेम नगर्ने सम्झौता भएको छ,’पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो चार्टर उडानका लागि भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड लगायत विभिन्न मुलुकसँग ओभरफ्लाइको अनुमति लिनुपर्ने जनाएको छ। श्रीले यो चार्टर उडान सिआरजे-७०० जेट इन्जिन जहाजमार्फत गर्न लागेको प्राधिकरणले जनाएको छ। चार्टर उडानका लागि कम्पनीले चालक दल, स्वास्थ्य सुरक्षा लक्षित सबै तयारी सुरु गरिसकेको प्राधिकरणले जनाएको छ।

श्रीको जेट इन्जिन जहाज सिआरजे-७ मार्फत यो दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको हो। यस अघि श्रीले नेपाली सेनासँगको समन्वयमा काठमाडौं-सुडान चार्टर उडान गरेको थियो। साभार-बिजमाण्डू / (फाेटाे – श्री एयरलाइन्स)