कतै अभाव : कतै मल र बीउ वितरण

26
वीरगञ्ज, ९ वैशाख ;-

कोरोना भाइरस संक्रमणलाई लक्ष्य गरी लागु लकडाउनमा पनि कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले सहजरुपमा रासायनिक मल आपूर्ति गर्दै आएको छ । कृषकको मागलाई ध्यानमा राखी लकडाउनको पूर्ण पालनाका साथ सामाजिक दूरीलाई ध्यानमा राखी स्थानीय प्रशासनको समन्वयमा कृषकलाई मलको आपूर्ति सहजरुपमा गरिँदै आएको कार्यालयका प्रदेश प्रबन्धक गोबिन्द प्रसाद पराजुलीले राससलाई बताउनुभयो । सो कार्यालयले आफूअन्तर्गतका अन्य कार्यालयलाई लकडाउन शुरु भएको मितिदेखि हालसम्म यूरिया मल ३५०, डिएपी मल २५० तथा पोटास ५० मेट्रिक टन काठमाडौँलगायत १३ कार्यालयमा पठाएको छ । पर्सा जिल्लामा भने आफ्ना ९५ सहकारी संस्थामार्फत युरिया मल १५०, डिएपी मल ४० तथा पोटास दुई मेट्रिक टन बिक्री गरिसकिएको छ । सो कार्यालयले सरकारको निर्णयानुसार झापामा १२५ मेट्रिक टन यूरिया मल पठाएको छ । हाल वीरगञ्ज कार्यालयमा यूरिया मल १२ हजार, डिएपी मल ६ हजार तथा पोटास एक हजार ४३० मेट्रिक टन मौज्दात छ । कार्यालयले तराईका किसानले लगाउने चैतेधान तथा पहाडका किसानले लगाउने मकैखेतीका लागि आवश्यक पर्ने रासायनिक मल पनि सहजरुपमा उपलब्ध गराउँदै आएको छ । रुपाका किसानलाई बीउ, बिरामीलाई ओखती चिप्लेढुङ्गा–कास्कीको रुपा गाउँपालिकाले पालिकाका किसानलाई बीउ वितरण गरेको छ । कोरोना त्रासको वर्तमान अवस्थाले किसानलाई दीर्घकालीन असर नपरोस् भनेर निःशुल्क बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । हाल उम्रिरहेका बिरुवामा पनि असिनाले असर गरेपछि तुरुन्तै बीउ वितरण गरेर किसानलाई राहत प्रदान गरिएको ओझाको भनाइ छ । “कोरोना महामारी र असिनाका कारण धेरै किसानलाई असर परेको छ, हामीले तत्काल उन्नत जातका बीउ जनप्रतिनिधि र कर्मचारीमार्फत वितरण गरेका हौँ”, उहाँले भन्नुभयो । मौसमी तरकारी काँक्रो, घिरौँला, लौका, साग, बोडी, चिप्लेभेँडीलगायत बीउ शतप्रतिशत अनुदानमा करीब चार हजार पाँच सय घरलाई उपलब्ध गराइने छ । हाल दुई हजार पाँच सय घरलाई बीउ वितरण गरिसकिएको जनाइएको छ । ‘रुपा गाउँपालिकामा स्वास्थ्य सेवा घरघरमा’ भन्ने उद्घोषका साथ सबै घरमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य जाँचको काम शुरु गरिएको तथा दीर्घरोगीदेखि ५० वर्ष उमेर समूहकालाई निःशुल्क मास्क वितरण गरिएको छ । सङ्क्रमण भित्रिन नदिन र नागरिकको सहज जीवनयापनमा स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाइँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । “हामीले गाउँपालिका नै लकडाउन गरेर नागरिकका आवश्यक र अत्यावश्यक खाद्यान्नदेखि औषधिसम्म घरघरमा पु¥याउँदै आएका छौँ ”, पोखरेलले भन्नुभयो, “असहज परिस्थितिमा सबै सहज त पक्कै हुँदैन तर पनि नागरिकको गुनासोलाई तत्काल सुनुवाइ गर्दै काम गरेका छौँ ।” अहिले मानिसको पैसा सकिएको र बैंक गएर पैसा साट्न नपाएको गुनासो आएपछि एक जनामार्फत चेक जम्मा गरेर बैंकमा साट्ने व्यवस्था मिलाउने तयारी पनि भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले ४ ८० घरपरिवारलाई राहत वितरण गरेको जनाइएको छ । धादिङ–आवश्यकतानुसार किसानलाई अत्यावश्यक मल र बीउ उपलब्ध नहुँदा समस्या भएको छ । जिल्लाको दक्षिणी र मध्य क्षेत्र तरकारी मुख्य क्षेत्रका रुपमा विकास भइरहेको छ । यतिखेर बेमौसमी तरकारी र धानबालीका लागि रासायनिक मल र तरकारीका बीउ अत्यावश्यक पर्छ तर मल र बीउ किसानको पहुँचभन्दा बाहिर रहेको थाक्रे गाउँपालिकाका व्यावसायिक किसान केशव रुपाखेतीले बताउनुभयो । तरकारी पकेट क्षेत्रका व्यावसायिक किसानले पटक पटक रासायनिक मल प्रयोग गर्नुपर्ने हुन्छ । धानको ब्याड राख्नुपर्ने अवस्थामा किन्नुपर्ने बीउसमेत नभएपछि किसान चिन्तामा परेका छन् । यतिखेर तरकारी बालीमा रासायनिक मल हाल्नुपर्छ । दोहोरो मकै गोड्नका लागि पनि खेतमा मल दिनुपर्छ तर नपाएपछि समस्यामा परेको विशालटारका तरकारी किसान राजकुमार बिसुरालले बताउनुभयो । धानको ब्याड राख्नुपर्ने अवस्थामा बीउसमेत नपाएकामा बिसुराल जस्तै किसानहरु चिन्तित भएका छन् । यतिखेर किसानको धानलगायत बीउको माग धेरै छ । रासायनिक मल र बीउ पनि धेरैका लागि आवश्यक भए पनि दिन नसक्दा किसान प्रत्यक्ष मारमा परेको बेनिघाट रोराङ गाउँपालिकास्थित कृषक सुधार फलफूल तथा तरकारी सहकारीका अध्यक्ष हेमनाथ थपलियाको भनाइ छ । जिल्ला सदरमुकाममा मलबीउ बिक्री गर्ने नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थासँग यतिखेर गोदाममा एक सय बोरा युरिया र ७० बोरा डिएपी रासायनिक मल मात्र रहेको सहकारीका व्यवस्थापक हरि रिजालले बताउनुभयो । जिल्लामा वर्षेनी तीन हजार नौ सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । वैशाखदेखि असारको बीचमै एक हजार नौ सय मेट्रिक टन मल किसानको माग रहेको कृषि सामग्री संस्थान गजुरीका कार्यालय प्रमुख शर्मिला घिमिरेले जानाकारी दिनुभयो । कृषि ज्ञान केन्द्र धादिङसँग बीउबिजनको कुनै योजना नभएको कार्यालयका बालीसंरक्षण अधिकृत जयराम अधिकारीले टेलिफोनबाट बताउनुभयो । केन्द्रका एक कार्यालय सहायकबाहेक कुनै कर्मचारी जिल्लामा उपलब्ध छैनन् ।

(रासस) फोटो-गुगल