भारत जान लागेका २१ जना भारतीयलाई पर्सा प्रहरीद्वारा पक्राउ

32

संतोष रन्जितकार
वीरगंज, २३ बैशाख ।
लकडाउनको समयमा भारत जान लागेका २१ जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । घरजान हिडेका भारत पश्चिम बंगालका २१ जनालाई ड्राईपोर्ट परवानीपुर सडक अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा परवानीपुरमा रहेको खुशी पेट्रोल पम्प नजिकैबाट आज बिहान नियन्त्रणमा लिएको हो ।
खेतको बाटो हुदै भागेको देखेर स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी पुगेर उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफूहरु सर्वोत्तम स्टील उद्योगमा काम गर्ने मजदुर रहेको बताए । उद्योगबाट भागेर खेतमा लुकिरहेका मजदुरहरु सबैजना पश्चिम बंगाल घर भएका भारतीयहरु रहेका छन् । पश्चिम बंगालकै ठेकेदार इन्ताजुल हकले उनीहरुलाई तीन महिना पहिले उद्योगमा कामका लागि ल्याएका थिए । लकडाउन हुनुभन्दा एकदिन पहिले ठेकेदार पुनः पश्चिम बंगाल फर्किएका थिए । लकडाउनले गर्दा उनी अहिलेसम्म नआएको र उद्योगमा खाने, बस्ने राम्रो व्यावस्था नभएपछि उनीहरु घर फर्किनलाई हिडेको बताएका थिए ।
उनीहरुले ठेकेदारले खान, बस्न व्यवस्था नगरेको र उद्योगमा पनि आफूहरुलाई खाने बस्ने व्यवस्था राम्रो नभएपछि बाध्य भएर उद्योगबाट घरजानलाई हिडेको बताएका छन् । उनीहरुको बारेमा थप सोधपुछ भईरहेको र यकिन गर्नका लागि उद्योगमा समेत बुझ्न पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिनुभयो ।