सबैको सतप्रयासले नारायणी अस्पताल कोभिड मुक्त, जस लिन नेताहरुमा होडबाजी

30
वीरगंज, २३ बैशाख ।
वीरगंज नारयणी अस्पताललाई सर्वसाधारणको अस्पताल बनाउन पर्सामा क्रियाशिल चार राष्ट्रिय दल र नगरप्रमुख बिजयकुमार सरावगीले आइतबार पर्साका प्रजिअमार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन बुझाएको फलस्वरुप आज मन्त्रालयले नारायणी अस्पताललाई कोभिड अस्पतालबाट मुक्त गर्ने निर्णय गरिएको बुझिएको छ । नारायणी अस्पतालमा रहेको कोभिड अस्पताललाई गण्डक अस्पतालमा सार्ने तयारी भइरहेको छ ।
कोभिड अस्पतालको लागि वीरगंज महानगरले गण्डक अस्पतालसंग यसअघि सम्झौता गरेर स्वीकृतिको लागि मन्त्रालयसंग माग गरे बमोजिम स्वास्थ्य मन्त्रालयले गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउने सहमति दिएको बताइन्छ ।
नारायणी अस्पताललाई कोभिड मुक्त बनाउन पर्सामा क्रियाशिल सम्पूर्ण राजनीतिक दल र नागरिक समाज क्रियाशिल भई आ–आफ्नो क्षेत्रबाट दवाब सृजना गरेका थिए । सबैको सतप्रयास र दवाव स्वरुप भएको यो कामको जस लिन नेताहरुमा अहिले व्यापक होडबाजी शुरु भएको छ । नेकपा निकट नेताहरु यो होडबाजीमा अगाडी देखिएका छन् ।
 
स्मरण रहोस् बैशाख ९ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसका नेताहरुले नारायणी अस्पताललाई कोरोना अस्पताल बनाउन गरिएको सरकारको निर्णय सच्याउदै पुनः पहिलेकै जस्तै आकस्मिक लगायतका सम्पुर्ण सेवा सुचारु गर्न र कोरोना संक्रमितहरुको उपचारका लागी अन्य कतै ब्यवस्था गर्नुपर्ने माग गरेका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, प्रदेश सभासदस्यहरु ओमप्रकाश शर्मा,शंकर चौधरी, राजेश्वर साह तेली, अशिया देवी थरुनी, नेताहरु सुरेन्द्र प्रसाद चौधरी, अनिल रुंगटा, जनार्दन सिंह क्षेत्री, रामनारायण प्रसाद कुर्मी, र रामरुप कुर्मीले एक संयुक्त बिज्ञप्ती जारी गर्दै नारायणी अस्पतालमा आएको पि.सि.आर. मेसिन यथाशिघ्र जडान गरी संचालन गर्नुका साथै अन्य जाँचका उपकरणहरु पूर्ण रुपमा संचालन गर्ने लगायतको माग गर्नु भएको थियो ।