मुख्यमन्त्री राउतद्वारा एकीकरण स्मृति उद्यानको शिलान्यास

30

संतोष रन्जितकार
वीरगंज, २७ वैशाख ।
लिपुलेख लगायतको नेपाली भूमि भारतले मिचिरहेको वेला प्रदेश २ को जितपुरसिमरा उपमहानगरपालिकामा एकिकरण स्मृति उद्यानको शिलान्यास गरिएको छ । नेपाल एकिकरणको इतिहास र नेपाली संस्कृति तथा परम्परा प्रबर्द्धनमा सहयोग पुगोस् भन्ने हेतुले एकिकरण स्मृति उद्यानको शिलान्यास गरिएको हो । नागरिक र सैनिक सम्बन्ध अझ प्रगाढ बनाउन संयुक्त सहकार्यमा नेपाली सेनाको अगुवाइमा निर्माण हुन लागेको एकिकरण स्मृति उद्यानको प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्क्री जितेन्द्र सोनलले शिलान्यास गरेका हुन् । सो त्रममा नेपाली सेना र नागरिकको सम्बन्ध सुरुदेखि प्रगाढ रहेकोले सहकार्यात्मक कार्यले अझ सम्बन्धलाई मजबुत बनाउने मुख्यमन्त्री गद्दीले बताए ।
कुल २१ करोड ९५ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न हुने उद्यानको निर्माण सम्पन्न भएपछि जनताकै स्वामित्वमा रहने गरी स्थानीय पालिकालाई नै सुम्पने नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डाका बाहिनीपति अनुपजंग थापाले बताए । यसमा यो प्रदेशका ८ वटै जिल्लाको ऐतिहासिकता झल्कने प्रदर्शनी (म्यूजिअम) हल, बुद्धको मूर्ति, एम्फिथिएटर व्याक भ्यू, तलेजु मन्दिर, नेपालको झण्डा र स्टाचु, प्रवेशद्वार लगायत मनमोहक दृष्य निर्माण गरिने छ । यो जग्गा नेपाली सेनाकै रहेको र यसको क्षेत्रफल २ बिगाहा २ कट्ठा जति छ । आगामी वर्ष २०७८/२/३१ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको २८ नम्बरका बाहिनीपति थापाले बताए ।
यो आर्थिक बर्षमा नेपाली सेनाले ५ करोड र प्रदेश २ सरकारले २ करोड गरी ७ करोड रकम विनियोजन भइसकेको छ । यसको लागि हेटौडाको भैरव कन्सटूक्सनलाई प्रदर्शनी हल र बाँकी काम हनुमान कन्सटूक्सनले गर्ने गरी सम्झौता पनि भइसकेको नेपाली सेनाको २८ नम्बर बाहिनीले जनाएको छ ।
मधेशमा रहेका मधेशी नागरिकको योगदानको स्मरण गर्दै त्यो योगदान बारे जनमानसमा अवगत गराउने प्रतिकको रुपमा सेनाको अगुवाइमा बन्न लागेको एकिकरण स्मृति उद्यान समयमा नै सम्पन्न हुने मुख्यमन्त्री राउतले विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नेपाली सेना, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । सामाजिक दूरी कायम गरी सो कार्यक्रम सम्पन्न भएको थियो ।