पत्रकार यादवलाई कुटपिट गर्ने दुई पक्राउ

30

कलैया, २९ वैशाख ।
तराई मधेश राष्टिूय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुरका छोटे मन्सुर भनिने इरफान मन्सुर र कलैया उपमहानगरपालिका–१ बस्ने नारायण सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेका मन्सुर र सर्राफमाथि कुटपिट मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको र अन्य दुई जनाको खोजी भइरहेको प्रवक्ता मिश्राले बताएका छन् ।
पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित पक्रिकाको कार्यालयबाट काम सकेर घर जाने त्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्ड अन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेका थिए । पत्रकार यादवका अनुसार कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे चारजनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको थियो ।
शरीरको विभिन्न भागमा चोट लागेका पत्रकार यादवको राति नै कलैया अस्पतालमा उपचार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ । ती समुहमा रहेका व्यक्तिले कुटपिट गर्नाका साथै क्यामरा, ल्यापटप र मोबाइल समेत फुटाई क्षति पुर्‍याएका थिए ।
पत्रकार यादवले भन्नुभयो, “गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले आफूलाई उद्धार गरी ज्यान बचाएको थियो ।” हेलमेट टाउकोमा लगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ ।
यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासङ्घ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।