प्रहरी दुर्व्यवहार विरुद्ध पत्रकार महासंघको धर्ना

18

संतोष रन्जितकार
वीरगंज, २९ बैशाख ।
पत्रकार पक्राउ विरुद्ध नेपाल पत्रकार महासंघले सोमबार बिहान घण्टाघरमा प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुर्व्यवहार गरेको विरुद्धमा पत्रकार महासंघ पर्साले सो प्रदर्शन गरेको हो ।

वीरगन्जको घण्टाघरमा भेला भएका पर्साका पत्रकारहरुले प्रहरीको ज्यादती विरुद्ध सांकेतिक विरोध गरेको हो । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले धर्ना स्थलमा सम्बोधन गर्दै यो महामारीमा चिकित्सक, औषधी व्यवसायी, बैंकर्स र अब पत्रकारमाथि प्रहरीले ज्यादती गरेको घटना प्रकाशमा आएपछि प्रहरीको व्यवसायिकतामाथि प्रश्न चिन्ह उठेको चर्चा गर्दै फ्रन्टलाइनमा काम गरिरहेको नेपाली प्रेसलाई बिच्काउने काम कोहीबाट हुनुहुदैन भनेर भन्नु भयो ।
प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषले पर्सामा प्रहरी प्रमुखमा गंगा पन्त आएदेखि नै नागरिकमाथि प्रहरीको व्यवहार राम्रो नरहेको बताउदै पत्रकारमाथि भएको दुर्व्यवहार अत्यन्त निन्दनीय रहेको बताउनुभयो ।

प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले संचालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस नेपाल पर्साका अध्यक्ष आरके पटेल लगायतले पनि बोल्नुभएको थियो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।