गण्डक अस्पताललाई नारायणी अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन

20

संतोष रन्जितकार
वीरगंज, ८ जेठ ।
वीरगंजको गण्डक अस्पतालमा पनि नारायणी अस्थायी कोभिड अस्पतालको शाखाको रुपमा बिहीबार देखि कोरोना संक्रमितहरुको उपचार शुरु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताललाई अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।
नारायणी अस्थायी कोभिड अस्पतालको शाखाको रुपमा स्थापना भएको गण्डक अस्पतालको आईसोलेशन कक्षमा बिहीबार २४ जना कोरोना संक्रमितहरुलाई भर्ना गरी उपचार शुरु गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी गराएका हुन् ।
कोरोना संक्रमित भई वीरगंजकै सिद्धार्थ माध्यमिक विद्यालयको सेमि आईसोलेशनमा भर्ना भएका २४ जना संक्रमितहरुलाई बिहिबार स्थानान्तरण गरि गण्डक अस्पतालको आइसोलेशन कक्षमा उपचार शुरु गरिएको तथा उक्त अस्पतालमा अहिले कुल ५० वटा बेड रहेको तथा २४ सै घण्टा चिकित्सकहरु पनि खटाइ सकिएको मे. सु.उपाध्यायले बताए । त्यहाँ स्थानान्तरण गरिएका २४ सै जना संक्रमितहरु पर्सा जिल्लाकै रहेका छन ।
वीरगंज लगायत पर्सा जिल्लामा संक्रमितहरुको संख्या बढन थालेपछि उपचारका लागि नारायणी अस्पतालले मात्रै थेग्न नसक्ने भन्दै महानगरपालिकाले गण्डक अस्पतालमा अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि गण्डक अस्पतालका सञ्चालकसंग एक महिना पहिले नै सम्झौता गरेको थियो ।
कोरोना अस्पाताल सञ्चालनको व्यवस्थापन खर्च महानगरपालिकाले व्यवहोरेको छ । यस्तै त्यहाँ खटिने स्वास्थ्यकर्मी र सरसफाइकर्मीको व्यवस्थापन भने नारायणी अस्पतालले गरेको हो ।