मेयर सरावगीको भनाई गैर जिम्मेवार: पूर्व नगरप्रमुख सुबेदी

नेपाली सेनालाई मेयर सरावगीले मुछ्नु हुदैन: नेता राकेश सिंह मेयर सरावगीको भनाई कानूनी र व्यवहारिक दुवै दृष्टिकोणले त्रुटिपुर्ण छ: अधिवक्ता सुधिर कर्ण

19

वीरगंज, १६ जेठ ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी र पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार बीचको अडियो रेकर्ड सार्वजनिक भएपछि सामाजिक संजालमा कडा प्रतिक्रिया व्यक्त भइरहेको वर्तमान अवस्थामा सो अडियो सुनेपछि वीरगंजका पूर्व नगरप्रमुख प्रदिप कुमार सुवेदीले सरावगीको भनाई प्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

नगरभित्र आउने बस्ने सम्पुर्ण जनताको अभिभावकीय भूमिकामा रहेका नगरप्रमुखले रोगीहरुप्रति लक्षित गरेर व्यक्त गरेको अभिव्यक्ति अत्यन्त निन्दनिय भएको बताउनु भयो । सुवेदीले वीरगंजमा पर्साको मात्र नभई अन्य जिल्लाको संक्रमित पनि आएर उपचार गराउन सक्छन् । पैसा दिएमात्र उपचार गर्ने मेयर सरावगीको भनाई अत्यन्त गैरजिम्मेवार भएको बताउँदै रोगीको उपचार हुनु उसको नैर्सङ्गिक अधिकार भएको चर्चा गर्दै अडियोमा मेयर सरावगीले अब पिसिआर मेसिन टेस्ट किट केही पनि मगाउँदिन मेयर भनेको तर त्यसको नाममा चन्दा उठाउने काम निरन्तर जारी रहेकोमा आश्चर्य प्रकट गर्नुभयो ।

पुर्व नगरप्रमुख सुवेदीले लकडाउनको ६७ दिनपछि आज नागरिक समाजको बैठक बसाएको सुने । अत्याधिक मात्रामा नागरिकको स्वाब परिक्षण गर्न अत्याधुनिक पिसिआर मेसिनको आवश्यकता रहेको तर यो बैठक सुरुमै बोलाएको भए राम्रो हुने थियो ।
त्यसैगरी सुवेदीले पर्साबाट निर्वाचित सांसद र विधायक जिल्ला समन्वय समितिको सभापतिहरुलाई मिलाएर हिड्न नसक्नु पनि मेयर सरावगीको कमजोरी रहेको बताउनु भयो ।

नेपाली कांग्रेस पर्साका नेता राकेश सिंहले अडियो सुनेर मेयर सरावगीले सेनाको एम्बुलेन्समा पोखरियाका संक्रमितलाई राखेर पठाउँछु भनेर भनेको सुन्दा आश्चर्य प्रकट गर्नुभएको छ । उनले सम्पूर्ण नेपालीको भरोसाको केन्द्रबिन्दुको रुपमा रहेको नेपाली सेनालाई मेयर सरावगीले विवादमा मुछ्न नहुने चर्चा गर्दै मेयर सरावगीले पदीय आचरण विपरित बोलेको बताउनु भयो ।

अडियो प्रति टिप्पणी व्यक्त गर्दै अधिवक्ता सुधिर कर्णले मेयर बिजय सरावगीको भनाई कानूनी रुपमा र व्यवहारिक दुवै रुपले त्रुटिपुर्ण रहेको बताउनु भयो । रौतहट बाराका नागरिकहरुको यहाँ इलाज भएको छ, भारतीयहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुको हेरचाह गरिदैछ भने आफ्नो जिल्लाको मान्छेलाई उपचार नगर्ने प्रश्न उठनु आफैमा जायज नभएको बताउनु भयो ।