कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्याे

13

काठमाडौँ, जेष्ठ १८।

पछिल्लो २४ घन्टामा २ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ।

बाजुरा अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

एक साताअघि भारतको दिल्लीबाट आएकी बुढीगंगा नगरपालिका-१ की ती बालिकाको आइतबार बिहान मृत्यु भएको हो। बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए।

मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिं कार्कीले मृतक बालिका र आमामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरे ।

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको  पुष्टि गरेका हुन्।

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।