२२ लाख रुपैयाँसहित साह पक्राउ

9

बिरगंज।

भारतसँग सीमा जोडिएको पर्साको गाउँबाट सशस्त्र प्रहरीले बिहीबार बिहान श्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित २० वर्षीय प्रकाश साहलाई पक्राउ गरेको छ ।

सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट बहुदरमाई नगरपालिकाको भौराटार आउँदै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल बन्जारीमा नियन्त्रणमा लिएर चेक गर्दा २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।

विशेष सूचनाको आधारमा मोटरसाइकल चेक गर्दा मोटसाइकलको ट्यांकीमा बनाइएको फल्स बटम भित्रबाट हजार, पाँच सय, सय र ५० का नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले जानकारी दिए ।

प्रहरीका अनुसार साहले रकमको स्रोत खुलाउन सकेका छैनन् । बाहुदरमाई नगरपालिका– ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले बताए ।

आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको उनले बताए ।