कोरोनाको संक्रमण नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

13

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको र सरकार विरुद्ध संर्घषमा जाने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

कांग्रेसले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको हो । बैठकले केन्द्रमा पार्टीका तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा र जिल्ला जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने निर्णय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत कांग्रेसका केन्द्रीय सदस्यहरुले उठाएका छन् । मंगलबारदेखि संसदमा समेत यस बिषयलाई जोडदाररुपमा उठाउने तयारीमा कांग्रेस रहेको छ ।

बैठकले पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसकेको, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार भएको, व्यवस्थित क्वारेन्टाइन बनाउन नकसेको, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव लगायतले सरकारको असफलता उदाङ्गो गरेको ठहर गरेको छ । आइसोलेसन सेन्टरसंगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नुका साथै राहत पनि उचित र न्यायसंगत ढंगले वितरण नगरेको कांग्रेसको निष्कर्ष छ ।

राहतमा सरकारले राजनीति गरेको कांग्रेले जनाएको छ । कांग्रेसले बैंठकले पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदा पनि सरकारले काम गर्ने तरिका सुधार नगरे सडक आन्दोलनको तयारीमा जुट्ने निष्कर्ष निकाले छ ।