अनेरास्ववियूका विद्यार्थी नेताहरुद्वारा बिन्दवासिनी गाउँपालिकाका जनप्रतिनिधि विरुद्ध विरोध प्रदर्शन

13

वीरगंज, ३ असार ।
पर्साको बिन्दवासिनी गाउँपालिकामा अनेरास्ववियूका विद्यार्थी नेताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा युनियनमा आवद्ध बिन्दवासिनीका नेता कार्यकर्ताहरुले गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गरेको भन्दै बुधबार बिरोध प्रदर्शन गरेका हुन ।
अनेरास्ववियुका विद्यार्थी नेताहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गर्दै अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभाव, जनतालाई सास्ती लगायतका बावजुद जनप्रतिनिधिहरु बिलासीमा रमाईरहेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि भ्रष्टाचार र बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको स्थानियहरुको गुनासो रहेको छ । कृषकहरुको समस्यालाई सम्बोधन नगरेर गाउँपालिकाकी उपाध्यक्ष महिनामा ४/५ पटक कार्यालय आएपनि मासिक रुपमा १ लाख सवारी खर्च उठाएको भन्दै विद्यार्थी नेताहरुले आपत्ति जनाएका थिए ।
अनेरास्ववियुका विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर, भ्रष्ट उप प्रमुखलाई कारवाही गर, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद लगायतका नाराहरु लेखिएका प्ले कार्ड सहित नाराबाजी समेत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले स्वयम आफुले मासिक रुपमा १ लाख सवारी खर्च लिएको स्वीकार गर्नुभएको छ । आन्दोलनको क्रममा विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम दिएको अनेरास्ववियूका केन्द्रिय सदस्य साहले बताए । साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम गरिने चेतावनी समेत दिएका थिए ।