नेपालको झण्डा जलाउने विरुद्ध युवाहरुद्वारा विरोध प्रदर्शन

33

संतोष रन्जितकार
वीरगंज, ६ असार ।
नेपाल भारत बीचको सम्बन्ध बिगार्न लागेको भन्दै युवाहरुको एक समूहले शनिबार बिरगंज घण्टाघर नजीक विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा नेपालको झण्डा जलाएर दुई देश बीचको सम्बन्ध थप बिगार्न लागेको भन्दै उनीहरु विरुद्ध युवाहरुले घण्टाघरमा भेला भएर विरोध प्रदर्शन गरेका थिए ।
नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आँल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो अहिले भाइरल भइरहेको छ ।
नेपालको झण्डा जलाउने मुस्लिम मौलानालाई कारवाही गर, नेपाल भारत बीचको सम्बन्ध बिगार्न खोज्ने तत्व मुर्दाबाद, नेपाल आमाको जय जस्ता नारा लगाउदैं युवाहरुले प्रदर्शन गरेका थिए ।


घण्टाघरबाट शुरु भएको विरोध जुलुश माइस्थान आदर्शनगर, घडीअर्वा पोखरी परिक्रममा गर्दै पुन: घण्टाघर चोकमा फर्किएर बिरोध कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच, युवाहरुले नेपालको झण्डा जालाउने भारतीय मुस्लिम मौलनाको तस्बिर अंकित ब्यानर जलाएका थिए । विरोध प्रदर्शन गर्दै युवाहरुले नेपालको झण्डा जलाउनेलाई कारवाहीको माग समेत गरेका छन् । बैनरमा आगो लगाउन खोज्दा प्रहरीले हस्तक्षेप गरि बैनर खोसेको थियो ।