वीरगंज महानगरपालिकाद्वारा पिसिआर मेशिन खरिद

नारायणी अस्पतालका मेसु उपाध्यायलाई मुख्यमन्त्री राउतद्वारा मेशिन हस्तान्तरण

11

संतोष रन्जितकार
वीरगंज, ६ असार ।
बिरगंज महानगरपालिकाले खरिद गरेको कोरोना परीक्षण गर्ने पिसीआर मेशिन बिरगंज आईपुगेको छ । बिरगंज उद्योगी व्यवसायी र विभिन्न संघसंस्थाहरुको आर्थिक सहयोगमा बिरगंज महानगरपालिकाले आफैले खरिद गरेको पीसीआर मेशिन हिजो साँझ बिरगंज महानगरपालिकामा आईपुगेको हो । बिरगंज आईपुगेको मेशिन हिजो नै नारायणी अस्पतालमा पठाईएको छ । वीरगंजको राणीसति धर्मशालामा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको हातबाट नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरिएको हो ।
मेशिनमा जडान हुने विभिन्न आठ किसिमको उपकरणहरु हिजो साँझ नै नारायणी अस्पतालमा आईसकेको छ । मेशिन औपचारिक रुपमा हस्तान्तरण भएपछि आजदेखि जडान शुरु गरिनेछ ।
मेशिन जडान भएपछि तत्कालै परीक्षण पनि शुरु गरिने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताउनुभयो ।
सम्पूर्ण पर्सावासीको साथ र सहयोगबाट पीसीआर मेशिन खरिद गर्न सफल भएको र यसले परीक्षणको दायरा बढाई वीरगन्ज सहित पर्सालाई नै ग्रिनजोनमा ल्याउने बताउनुभयो । विभिन्न बाधा अवरोधकाबीच पनि बिरगंज का उद्योगी व्यवसायी, पर्सेली जनताको साथ र सहयोगले महानगरपालिका आफैले अब कोरोना परीक्षण गर्ने र नागरिक स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो ।
राजनीतिक स्वार्थ भन्दा मानवीय स्वास्थ्य र नागरिको सुरक्षालाई ध्यानमा राखेर आफु ले कोरोना भाईरस महामारी विरुद्ध लडेको बताउदै यसमा जनताको साथले सफलता उन्मुख रहेको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाका मेयर विजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा, आर्थिक पत्रकार संघका अध्यक्ष विजय कुश्वाहा र मेशिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको पनि उपस्थिसित रहेको थियो ।