पर्साबाट डेढ वर्षका बालक सहित ११ जनाले जिते कोरोना

14

संतोष रन्जितकार
वीरगंज, ८ असार ।
नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालबाट डेढ वर्षका बालक सहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा सखुवा प्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला रहेकी छिन ।
उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनी–२ गुलरिया स्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो । वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय नारायण सिंहले तीनै जना सखुवा प्रसौनीस्थित क्वारेन्टिनमा ५ दिन बसेका र संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ६ दिन बसेपछि उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेको बताउनुभयो ।
त्यस्तै डिस्चार्ज हुनेमा जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष छन् । गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् ।
पर्सामा हालसम्म २ जना पत्रकार, ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय नागरिक समेत गरी १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण देखिएको थियो ।