अस्थायी कोभिड अस्पताल गण्डकबाट २१ जना कोरोना मुक्त भएर घर फर्के

12

संतोष रन्जितकार
वीरगंज, १४ असार ।
वीरगञ्जबाट आइतबार थप २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्केका छन् । नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित कोरोना मुक्त भएको अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । संक्रमित भई उपचार गराइरहेका उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएकोले अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको सिंहले बताए । निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु रहेका छन् ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना, पटेर्वा सुगौली गाउँपालिकाका दुई, पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना रहेका छन् ।
आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।