ग्रीन आर्मीद्वारा मेयर सरावगीलाई ज्ञापन

9

संतोष रन्जितकार
वीरगंज, १५ असार ।
वातावरण जिउने आधार संस्थाको पर्सा शाखा अन्तर्गत रहेका ग्रीन आर्मीले वीरगंज महानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । ग्रीन आर्मीका प्याप्टेन राजाबाबु कलवार र वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीलाई सोमबार ज्ञापन पत्र बुझाएको हुन् ।
विश्वमा कोरोना महामारीको त्रास नसकिदै फेरी अर्को सलहको महामारी देखिन थालेको छ । यो सलह कीराले गर्दा किसानहरु धेरै नै चिन्तित बनेका छन् । यो कीरा झुण्डमा आएर खेतबारीमा भएको बालीनालीलाई पूर्ण रुपमा नष्ट पार्ने गर्दछ । यसले गर्दा कृषकहरुलाई ठुलै क्षति पुर्‍याउने गर्दछ ।
यो सलह कीरा गत शनिबार नै भारतबाट नेपाल भित्रिएको हो र शनिबार देखि सोमबार सम्ममा नेपालको विभिन्न स्थान हुंदै पहाडी जिल्लाहरुमा समेत पुगिसकेको छ । यो किरा १३८ कि.मि. प्रतिघण्टाको दरले उड्ने गर्दछ ।
यो सलह कीरा बारे गम्भिरता पूर्वक विचार पुर्‍याइएन भने यस वर्ष यसको क्षतिको कारण किसान मात्र नभई आम मानिसहरुलाई पनि भोकै मर्ने स्थिती सृजना हुन पुग्छ । यसले बालीनाली नै नष्ट पार्ने भएको कारण भोकमरीको अवस्थामा पुग्न सकिने जानकारहरुको भनाई रहेको छ ।
सो महामारीबाट बच्न तथा सावधानीका कदमहरु उठाउनका लागि जनचेतना फैलाउन आवश्यक रहेको वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले बताउनु भयो ।