जसपाका नेताहरुद्वारा नागरिकता विधेयक विरुद्ध र्‍याली तथा विरोध प्रदर्शन

19

संतोष रन्जितकार
वीरगंज, १६ असार ।
नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले मंगलबार वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जको स्वीमिङ पुलबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले सरकारले फेरि पनि मधेशी समुदामाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको आरोप लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।
यस्तै विरोध सभामा बोल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधेयकले बुहारीमाथि अन्याय गर्ने बताए ।
संविधान सभा सदस्य एवं जसपा नेतृ करिमा बेगमले महिला तथा मधेसीका साथ सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति जनाएकी थिइन् । उनीहरुले विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप रहेको थियो ।
विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सचिव सुरेन्द्र तिवारी, सदस्यहरू बाबुलाल यादव, शशिकपूर मियाँ, परमानंद चौधरी, सिपु तिवारी, मिनु ठाकुर, बरकतुल नेसा, रम्भा मिश्रा, प्रतिमा जोशी, पार्टी नेताहरू प्रेमबाबु पटेल, सुन्दर पटेल, उपाध्यक्ष मदन प्रसाद यादव, खैरूद्दीन मियाँ, रमेश प्रसाद यादव, मुकेश द्धिवेदी, महानगर अध्यक्ष लियाकत अली, महानगर युवा अध्यक्ष राजु गुप्ता, युवा कोषाध्यक्ष अफरोज आलम, बीरगंज महानगरपालिकाका वडा अध्यक्षहरू बैजुलाल स्वर्णकार, संतोष तिवारी, रियाज मियाँ ठकुराई, तुफैल अख्तर युवा नेताहरू आशुतोष चतुर्वेदी, राकेश दुबे, सौकत अली, विधार्थी नेताहरू मधुसूदन चौरसिया, सगिर अली, महिला नेतृहरू प्रतिमा सिंह, संगीता दास, रेखा पासवान, लक्ष्मी साह लगायतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष राजेशमान सिंहको अध्यक्षतामा सपन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।