प्रदेश न.२को संचार विधेयक पत्रकारहरुले जलाए

9

जनकपुरधाम ।

प्रदेश न.२ मा गत शनिबार पारित भएको संचार विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले विधेयक जलाएका छन् ।

पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका छन् ।

‘कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको छ’ विरोधका अगुवा पत्रकार वीपी साहले भने, ‘यो विधेयक राणा शसनकालमा भन्दा पनि निरंकुश रहेकाले हामीले जलाएका हौं ।’

उनका अनुसार पत्रकारलाई जरिवाना नै तोकिए कानुनमा दख्खल भएको व्यक्तिले तोक्नुपर्ने तर सरकारले नियुक्त गर्ने व्यक्तिले जरिवाना तोक्ने प्रावधान राखिनु उचित हुँदैन ।

सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले बताएका छन् ।

गत वर्ष प्रदेश सभामा यो विधेयक पेश भएदेखि नै विवादित रहँदै आएको थियो ।