छोरालाई कुटपिट गरेको विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको महमजान मियाँको आरोप

6

संतोष रन्जितकार
वीरगंज, २१ असार ।
पर्साको जगरनापुर गाउँपालिका वडा नं. १ विसुनपूरवा निवासी महमजान मियाँले आफ्नो छोरालाई कुटपिट गरेको विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मियाँले ३६ वर्षीय छोरा अब्दुल मलख मियाँलाई छिमेकी ४६ वर्षीय शेख कारी र निजका २५ वर्षीय छोरा सदरे आलमले कुटपिट गरि मृत्युको मुखमा पुर्‍याएतापनि प्रहरीले निजहरुमाथि कारवाही नगरेको आरोप लगाएका हुन् ।
उनले असार ५ गते खेतको आलीको विषयमा भएको विवादको निहुँमा छोरालाई एक्लै रहेको मौका छोपी आफ्नै घर अगाडि आरोपीद्वयले गम्भिर कुटपिट गरेको बताए ।
कुटपिटले गर्दा छोराको टाउको, पेट लगायतका अंगहरुमा चोटपटक लागेको छ । कुटपिटबाट छोराको टाउको फुट्नुका साथै पेटमा लठ्ठीले हानेको कारण किड्नीमा समेत असर परेको बताए ।
आलीको विषयलाई लिएर उत्पन्न विवाद पश्चात साँझ भएको झै–झगडामा परी छोरालाई गरिएको कुटपिटको कारण टाउकोमा गम्भिर चोट लागेको छ भने किड्नीमा चोट लागेको कारण पिसाबबाट रगत बगीरहेको तथा पीडितको अवस्था गम्भिर रहेको बताए ।
कुटपिटबाट घाइते भएका छोरालाई तत्काल गाउँपालिका स्थित प्राथमिक उपचार केन्द्रमा उपचार गराई वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतालमा उपचारको लागि ल्याएकोमा त्यहाँबाट उपचार हुन नसक्दा नेशनल मेडिकल कलेजमा रेफर गरिएको र मेडिकल कलेजमा डाइलोसिस गर्नुका साथै अवस्था सामान्य नभएपछि भारतको लखनउ स्थित अस्पतालमा उपचार भइरहेको मियाँले बताए ।
उनका अनुसार हालसम्म ४ लाख रुपैया खर्च भइसकेको तर कुटपिट गर्ने पक्षले कुनै किसिमको क्षतिपूर्ति नदिएको र न्यायको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा जाहेरी समेत दर्ता नगरिएको आरोप लगाए । कुटपिटमा परेका छोराको अवस्था अहिलेपनि गम्भिर रहेको छ, हालसम्म तीन पटक डाइलोसिस गरि सकिएको छ तर अवस्थामा सुधार आएको छैन भन्दै मियाँले शेख कारी र सदरे आलमलाई पक्राउ गरिएपनि कुनै किसिमको सहमति विना नै प्रहरीले छोडेको बताए ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिदा दर्ता नगरी सहमति गर्ने पक्षमा रहेको पीडित पक्षको भनाई छ । घटना पश्चात जिल्ला प्रहरी कार्यालयमा पुगेका पीडित महमजान मियाँले क्राइमका सईले आफूलाई १ लाख रुपैया लिएर सहमति गर्नुपर्ने भन्दै दबाब दिएको बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोज कुँवरले सामान्य घटनामा स्थानीयहरु मिल्न चाहन्छन् भने प्रहरी बाधक नबन्ने भएकोले तिनीहरुलाई मिलापत्र गराउन खोजेको बताए । पक्राउ परेका दुबैलाई तत्कालको लागि छाडिएको भएपनि घटनाको छिनोफानो नभएको भन्दै डिएसपी कुँवरले पीडितको उपचार भइरहेकोले आगामी अवस्थालाई हेरेर कारवाही प्रक्रिया अगाडि बढाइने भने । उनले घटनामा पीडितको पक्षबाट मुद्दा दर्ता भइसकेको भनेतापनि पीडित पक्षले भने मुद्दा दर्ता नभएको आरोप लगाए ।