थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार एक सय ६८ पुग्यो

8

काठमाडौं :

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज 
नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।