महिलामाथि यौन दुव्र्यवहारको आरोपमा तीन जना स्वास्थ्यकर्मी गिरफ्तार

49

वीरगंज २४ असार ।
अस्पतालमा उपचारको लागि भर्ना भएकी वीरगंज ३१ इस्लामपुर बेल्वा निवासी एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ३ जना स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई वडा प्रहरी कार्यालय बिर्ताले आफ्नो नियन्त्रणमा लिएको प्रहरी निरिक्षक निर्मल पनेरुले बताए ।
हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीद्वारा सञ्चालित सो अस्पतालमा १० दिन अगाडी जुम्ल्याहा छोरा जन्माएकी सो महिलालाई असार २३ गते बेलुकी ज्वरो आएपछि उपचारको लागि भर्ना गरिएको थियो । अस्पतालको आइसियु कक्षमा भर्ना भएकी सो महिलालाई उनका आमाबुवासंग भेट्न समेत नदिई उपचारको बहानामा यौन दुव्र्यवहार गरेको उनका आफन्त नईम मियाँले आरोप लगाएका छन् ।
बुधबार बिहान बिरामीकी आमाले भेट्न जांदा रुदै महिलाले आफ्नो पीडा सुनाएपछि यो घटनाको पर्दाफास भएको हो ।
यता अस्पतालका सञ्चालक डाक्टर रोशन अलीले आरोप प्रमाणित भइनसकेकोले अहिले केही भन्न नसकिने बताउंदै आइसियु कक्षमा रहेकी बिरामी महिलालाई औषधीको कारणले भ्रम पनि उत्पन्न हुन सक्ने दावी गर्नुभयो ।