म्याग्दीमा पहिरोले ५ घर पुरिए, ९ जना बेपत्ता

6

म्याग्दी :

अविरल वर्षासँगै खसेको पहिरोले बिहीबार म्याग्दीमा पाँच घर पुरिएका छन् भने ९ जना बेपत्ता छन् । एउटा बेलिब्रिजसमेत भत्किएको छ ।

धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् ।

पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको स्थानीयले बताए ।

पहिरोले त्यहाँको शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोले घन्टीवाङको माथिल्लो खण्डमा १३ र तल्लो खण्ड रिखाका ४ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले पहिरोमा केही घर पुरिएको र मानवीय क्षतिको जानकारी आए पनि संख्या यकिन भइनसकेको जनाएको छ ।

त्यसै गरी राहुघाट खोलामा आएको बाढीले कटान गर्दा बेनी–जोमसोम सडकको गलेश्वरस्थित राघुघाट खोलामाथिको बेलीब्रिज बगाएको छ । पुल बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।

रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।