क्वारेन्टाइनमा बसेर घरफर्केको केही दिन पश्चात एक वृद्धद्वारा आत्महत्या

17

संतोष रन्जितकार
वीरगंज, २८ असार ।
क्वारेन्टाईनमा बसी पिसिआर परिक्षण पश्चात घर फर्केका एक जना वृद्धले आत्महत्या गरेका छन् । बाराको परवानीपुर गाउँपालिकामा वडा नं. ५ बहुअरी निवासी ७० बर्षिय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् ।
खाना खाएर राती ठिकै अवस्थामा सुतेका बुवा बिहान अचानक मृत अवस्थामा फेला परेका उनका छोरा जितेन्द्र ठाकुरले बताए । क्वारेन्टाइनमा बस्दा उनी मानसिक रुपले निकै कमजोर भएको स्थानियहरुले बताएका छन् । गाउँका साथीभाई भेट्दा ठाकुरले जहिले पनि मलाई कोरोना भइसकेको तथा प्रहरीले आएर लग्ने बताउने गरेका थिए । क्वारेन्टाइनमा बस्दा गरिएको उनको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनी घर फर्केका थिए ।
कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्य अन्तर्गत पर्ने नरकटियागंजमा छोरीको घरमा गएका थिए । शुरुको लकडाउनमा उनी उतै रोकिएका थिए । दुई महिना त्यहाँ बसेर आएपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिन बसेका थिए । स्थानिय सरकारको पहलमा उनलाई नेपाल फर्काइदा सिधै क्वारेन्टाईनमा लगेर राखिएको थियो ।
क्वारेन्टिनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११ औं दिनमा असार १९ गते उनलाई घर पठाइएको थियो । मृतक ठाकुरको शवलाई पोष्टमार्टमको लागि कलैयाको जिल्ला अस्पतालमा ल्याइएको छ ।