सिर्सिया नदीमा जलकुम्भीले पानी बग्न नदिएपछि सरसफाई गरियो

39

संतोष रन्जितकार
वीरगंज, २८ असार ।
वीरगञ्ज महानगरपालिका हुँदै बग्ने सिर्सिया नदीको सरसफाई गरिएको छ । वर्षाको पानीले भरिपुर्ण अवस्थामा रहेको नदीको पानीमा हुने गरेको जलकुम्भीहरुले पानी बग्न नदिएपछि पानी आसपासका क्षेत्रमा पस्न सक्ने भएकोले सो क्षेत्रको सरसफाई गरिएको हो ।
रामगढवा स्थित सिर्सिया नदीमाथि बनाइएको पुलको तलतिर पानीमा हुने गरेको जलकुम्भी तथा फोहरहरुले समेत ढाकिएर पानी बग्न नसकेको रामगढवाका एक स्थानीयले बताए । नदीको सरसफाई गर्नेमा घडिअर्वा स्पोर्टस क्लब, वीरगञ्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, विपद् व्यवस्थापन कार्यदल प्रदेश नम्बर २ वीरगंज र स्थानीयहरुको सहयोगमा नदीको सरसफाई गरिएको थियो ।

सल्लाहकार मनोहर साहले सिर्सिया पुलमा जलकुम्भीले ढाकेर पानी बस्तीतिर जाने स्थिति भएपछि सरोकारवाला निकायलाई गुहारेको जानकारी दिए । सो जलकुम्भी हटाउन वीरगञ्ज महानगरपालिकाले दुईवटा जेसीबी पठाएको थियो । विपद् व्यवस्थापन गुल्मका प्रहरीले लाइफ ज्याकेट लगाएर नदीमा पसेर जलकुम्भीलाई किनारा लगाएपछि जेसिबीले सो जलकुम्भीलाई हटाएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पण्डितले समुदाय प्रहरी साझेदारी अन्तर्गत स्वच्छ एवं व्यवस्थित वीरगञ्ज बनाउने अभियान अन्तर्गत पुलमा थुप्रिएर बसेको जलकुम्भी हटाइएको जानकारी दिए ।

दुई दिनअघि मनसुन सुरु भएपछि आउन सक्ने विपद्का बारेमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल भइसकेको छ । बैठकमा मनसुनले जिल्लामा पार्न सक्ने प्रभाव र गर्नुपर्ने पूर्व तयारीका बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए ।
सो सफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, वडा नं. १० का अध्यक्ष नगिना साह, नगरप्रमुख सरावगीका सल्लाहकार मुकेश द्विवेदी, पर्साका प्रहरी उपरिक्षक गंगा पन्त, प्रहरी टोली लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।