यातायात कार्यालय वीरगंजद्वारा स्मार्टकार्ड वितरण शुरु

30

संतोष रन्जितकार
वीरगंज, २९ असार ।
वीरगंजमा लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेकाहरुको समस्या समाधान हुने भएको छ । प्रदेश २ सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाले अबको एक महिना भित्र ४२ हजार चालक अनुमति पत्र बाँड्ने जानकारी दिएको हो ।
पछिल्लो तीन महिनाको लकडाउनको कारण लाइसेन्सको छपाइमा तीव्रता तथा नयाँ सेवाग्राही नथपिएपछि लाइसेन्स वितरणको समस्या समाधान हुन लागेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंज प्रमुख सुशील साहले बताए ।
‘१७ हजार लाइसेन्स छापिएर आइसकेको छ, विस्तारै वितरण पनि शुरु भएको छ । अन्य २५ हजार जनाको स्मार्ट कार्ड लाइसेन्स एक साताभित्र यातायात व्यवस्था विभागबाट वीरगंज आइसक्ने उनले भने ।
लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि लाइसेन्स वितरण भइरहेको र लाइसेन्सको नवीकरणको काम बाहेक अन्य सेवा शुरु नभएको उनको भनाइ छ । विसं २०७४ असार १८ गतेदेखि २०७७ असार २५ गतेसम्म १ लाख २३ हजार ९ सय ४० जनाले परीक्षा पास गरी लाइसेन्सका लागि विभागमा अनुरोध गरिएकोमा गत बिहीबारसम्ममा १ लाख १० हजार १ सय २९ जनाको लाइसेन्स छाप्ने काम पूरा भइसकेको कार्यालय प्रमुख साहले जानकारी दिए ।
उनका अनुसार अब वीरगंज कार्यालयबाट जम्मा ११ हजार २ सय ३२ जनाको लाइसेन्स छपाइको काम मात्र बाँकी छ । लकडाउन अघि लाइसेन्सको सबै परीक्षा पास गरेको १५ महिनापछि मात्र लाइसेन्स छापेर वीरगंज आइपुग्थ्यो । लकडाउनले विभागमा लाइसेन्स छपाइको काम नरोकिएको र तीव्रता दिएपछि यस भेगका मानिसहरुको महिनौंसम्मको पर्खाइ अन्त्य हुने देखिएको छ ।
कार्यालयका प्रमुख साहले ७ लाख १० हजारको लटसम्म लाइसेन्स छपाइ भएर आइसकेको हुनाले सेवाग्राहीले आफनो रसिद अनुसार कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।